बुलिङटार ६ फाल्गुन । बुलिङटार गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को १६ औँ गाउँसभा आज मिति २०८१ फागुन ६ गते गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।


सभामा स्थानीय विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन तथा अन्य महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरिनुका साथै विभिन्न नीति तथा योजनाहरू पारित गरिएको छ । गाउँसभा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले “बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार निर्माण हाम्रो साझा संकल्प हो । पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, कृषि तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै, पारदर्शिता र सुशासनलाई आधार बनाएर हामी अगाडि बढ्नेछौं । सबैको सहकार्यले मात्र समृद्ध र आत्मनिर्भर बुलिङटार सम्भव छ । “भन्ने भनाई राख्नु भयो ।

यसै अवसरमा उपाध्यक्ष दिल माया राना मगर,प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसाल र गाउँपालिकाको कर्मचारीहरु सहित वडा नं. १ देखि ६ सम्मका वडा अध्यक्षहरूले पनि बुलिङटार गाउँपालिकाको विकासका सम्बन्धमा आफ्ना महत्त्वपूर्ण धारणा व्यक्त गर्नुभयो । उहाँहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि तथा पर्यटन प्रवर्द्धनमा गाउँपालिकाले थप प्रभावकारी योजना अघि बढाउनुपर्नेमा जोड दिँदै, सबै तहका निकायहरूको सहकार्यबाट समृद्ध बुलिङटार निर्माण गर्न प्रतिबद्धता जनाउनुभयो । जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागितामा सम्पन्न यस गाउँसभाले “समृद्ध बुलिङटार” को लक्ष्यलाई साकार पार्ने मार्गचित्र कोरेको छ।



















