

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । बुलिङटार गाउँपालिका–१, कोटथरस्थित कोटथर स्वास्थ्य चौकीमा दुई वर्षमुनिका बालबालिका तथा उनीहरूका आमाको सहभागितामा ‘खोपसँगै सरसफाइ’ सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ ।


बालबालिकाको स्वास्थ्य सुरक्षा, रोगको रोकथाम तथा सरसफाइसम्बन्धी सकारात्मक व्यवहारको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नियमित खोप सेवा प्रदान गर्नुका साथै आमाहरूलाई बालस्वास्थ्य प्रवर्द्धन, व्यक्तिगत स्वच्छता र सरसफाइसम्बन्धी व्यावहारिक जानकारी दिइएको थियो ।
कार्यक्रममा दुई वर्षमुनिका बालबालिकालाई उमेरअनुसार आवश्यक नियमित खोप लगाउने कार्यसँगै बालबालिकाको स्वास्थ्य र विकासमा सरसफाइको महत्त्वबारे जानकारी गराइएको थियो। विशेषगरी हात धुने सही तरिका, बालबालिकाको व्यक्तिगत स्वच्छता कायम गर्ने उपाय तथा घरपरिवार र वरपरको वातावरण सफा राख्नुपर्ने आवश्यकताबारे आमाहरूलाई सचेत गराइएको थियो।
बालबालिकालाई विभिन्न रोगबाट जोगाउन नियमित खोपसँगै स्वच्छता र सरसफाइसम्बन्धी बानीको विकास गर्नु अत्यन्त आवश्यक रहेको बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अशोक श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार बालबालिकाको स्वस्थ जीवन सुनिश्चित गर्न खोप सेवाको प्रभावकारी उपयोगसँगै सरसफाइसम्बन्धी सचेतना र व्यवहारमा सुधार ल्याउनु महत्त्वपूर्ण हुन्छ। बालबालिकाको स्वास्थ्य सुरक्षामा अभिभावकको भूमिका महत्त्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रमले परिवार तथा समुदायमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
नियमित खोप सेवा र सरसफाइसम्बन्धी सचेतनालाई एकीकृत रूपमा अघि बढाउँदा बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न तथा स्वस्थ समुदाय निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।






