बुलिङटार १३ चैत । नवलपुरको बुलिङटार गाउँपालिका–४ कोखेटार र तनहुँको रिसिङ गाउँपालिका–४ मधुवन जोड्ने पक्की पुल निर्माणमा नौ वर्ष बित्दा पनि काम सम्पन्न नभएपछि बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरको नेतृत्वमा युवा नेता विद्रोही गिरी र स्थानीयहरूले सडक विभागमा गुहार गर्नु भएको छ ।

पुल सेक्टर कार्यालय पोखराका प्रमुख ज्ञानेन्द्र कनौलीले पुल निर्माणमा भएको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अब कुनै बहानामा काम रोक्न नदिइने बताउनुभयो । २२० मिटर लामो पुलका ६ मध्ये ५ पिल्लर निर्माण भइसकेका छन्, अन्तिम पिल्लरको जमिनमुनिको काम पनि सकिएको हुँदा निर्माण पक्षले ध्यान दिएमा छिट्टै काम सम्पन्न हुने उहाँको भनाइ छ ।

२०७३ असार २९ गते पुल निर्माणको सम्झौता भई २०७७ वैशाख २८ सम्म सक्ने लक्ष्य राखिएको थियो। तर समयमै काम नसकिएपछि म्याद थपिंदै हाल २०८२ चैत ७ गतेसम्म पुर्याइएको छ। पुल निर्माण छिटो सम्पन्न गराउन अध्यक्ष सुनारीको विशेष पहलमा स्थानीय नेताहरू, सरोकारवालाहरू र पुल सेक्टर कार्यालय प्रमुख कनौलीसहितको टोलीले सडक विभागका महानिर्देशक श्री रामहरि पोखरेललाई भेटी तत्काल निर्माण कार्य सम्पन्न गर्न अनुरोध गरेको छ ।
महानिर्देशक पोखरेलले अब कुनै बहानामा निर्माण रोकिने नसक्ने र विभागले कडाइका साथ निगरानी गर्ने प्रतिबद्धता जनाउनुभएको छ। भुक्तानी सम्बन्धी कुनै समस्या नरहे पनि निर्माण कम्पनीको लापरबाहीका कारण ढिलाइ भएको उहाँले बताउनुभयो ।
साथै, खैरेनीटार–भिमाद–डेढगाउँ हुँदै कोखेटार–बोझा पोखरी (NH45) सडकखण्ड अन्तर्गत कोखेटार–पोखरी सडकलाई कालोपत्रे गर्न अध्यक्ष सुनारीज्यूले विशेष जोड दिनुभएको छ। सोही विषयमा पाल्पाका सांसद नारायण प्रसाद आचार्य र गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीको विशेष पहलमा आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ ।

पुल तथा सडक निर्माणपछि कावासोतीबाट तनहुँको भिमाद हुँदै पोखरा जाने दूरी करिब १५ किलोमिटर छोटिने र नवलपुरलाई प्रदेश राजधानी पोखरासँग जोड्न महत्वपूर्ण हुने भएकाले काम शीघ्र सम्पन्न गर्न अध्यक्ष सुनारीले विशेष पहल गरिरहनुभएको छ ।




















