बुलिङटार ३० बैशाख । बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीको विशेष पहलमा गाउँपालिकामा दूरसञ्चार सेवा विस्तारतर्फ उल्लेखनीय प्रगति भइरहेको छ ।
विशेषगरी, वडानं. ३ मा विगतदेखि जीर्ण अवस्थामा रहेको नेपाल टेलिकमको टावरलाई 4G सेवामा स्तरोन्नति गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। उक्त कार्य आगामी आषाढ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यान्वयन भइरहेको छ ।
स्थानीयवासीलाई गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित अध्यक्ष सुनारीले केही समयअघि सूचना तथा सञ्चार प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई भेट गरी टेलिकम सेवामा देखिएका समस्या, कमजोरी तथा समाधानका उपायहरू समेटिएको ज्ञापनपत्र बुझाएका थिए। सो ज्ञापनपत्रपछि मन्त्रालय तथा नेपाल टेलिकमका प्राविधिक टोलीसँग समन्वय गरी प्राविधिक अध्ययन र योजना कार्यान्वयनको ठोस पहल गरिएको हो ।
त्यसैगरी, अध्यक्ष सुनारीले वडानं. ४ को चुलिबोझा क्षेत्र र वडा नं. १ को लामीटार डाँडामा स्थलगत अनुगमन गरी हालसम्म दूरसञ्चार सेवा नपुगेको अवस्थालाई मध्यनजर गर्दै नयाँ टेलिकम टावर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। यसपछि ती दुर्गम क्षेत्रका स्थानीय नागरिकहरू मोबाइल तथा इन्टरनेट सेवाबाट लाभान्वित हुनेछन् ।

अध्यक्ष सुनारीको यो प्रयासले बुलिङटार गाउँपालिकामा डिजिटल पहुँच विस्तार गर्नुका साथै शिक्षा, स्वास्थ्य, व्यवसाय र सञ्चार सेवामा समेत गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ। यस अभियानले बुलिङटारलाई ‘बस्न योग्य, हेर्न लायक समृद्ध गाउँपालिका’ बनाउने अभियानमा थप टेवा पुर्याउने विश्वास लिइएको छ ।



















