बुलिङटार २२ जेठ । बुलिङटार गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित साहसि र उर्जाशिल महिला समाज उत्थानको परिकल्पना सहित”महिलाहरुका लागि भाषण कला, व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी तीन दिने अभिमुखीकरण तालिम ” होटल करिडोर इन प्रा.लि. मा सफलतापूर्वक सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारी मगर कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो । साथै कार्यक्रममा उपाध्यक्ष दिलमाया राना मगर , वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत श्री रामचन्द्र भुषाल लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ६
वटै वडाबाट करिब ९० जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले भाषण कला, आत्मविश्वास, सार्वजनिक प्रस्तुति, नेतृत्व क्षमता र व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण प्राप्त गरे। अध्यक्ष दिपेन्द्र सुनारी मगरले महिला सशक्तीकरणलाई पालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै, यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिमले महिलाहरूको सञ्चार सीप, आत्मविश्वास र नेतृत्व क्षमतामा उल्लेखनीय वृद्धि गरेको सहभागीहरूले बताएका छन् ।



















