भरतपुर १८ असार । चितवनमा नेटवर्किङ बिजनेसका नाममा ठगी गरेको आरोपमा भरतपुर–९, वेणीचोकबाट पक्राउ परेका १४ जनामध्ये आठ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।
आठ जनाविरूद्ध ठगीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट छ दिनको म्याद लिइएको उनले बताए । पक्राउ परेका अन्य छ जना भने छुटेका छन् ।
खनालका अनुसार सिन्धुली दुधौली नगरपालिका–१३ बस्ने भिजिनरी युथ इन्टरप्रेनियर्स ट्रेनिङ इन्स्टिच्युट सञ्चालक २७ वर्षीय धनबहादुर खत्री, दुधौली–१४ बस्ने २१ वर्षीय मिलन खत्री, उदयपुर कटारी नगरपालिका–२ बस्ने २८ वर्षीय लक्ष्मण बास्तोला, कटारी–७ बस्ने २० वर्षीय गणेश कार्की, कटारी–१२ बस्ने २२ वर्षीय दिपेश भन्ने मोहनबहादुर थापा, त्रियुगा नगरपालिका–४ बस्ने ४० वर्षीय रामबहादुर दियाली, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–१ बस्ने २५ वर्षीय श्याम दियाली र बारा कोल्वी नगरपालिका–९ बस्ने २१ वर्षीया पूर्णिमा चौधरीविरूद्ध मुद्दा दर्ता गरिएको हो ।
तीन जना पीडितको उजुरीका आधारमा वेणीचोकस्थित भिजिनरी युथका सञ्चालक धनबहादुर खत्रीसहितलाई प्रहरी निरीक्षक दीपक रिजालको कमान्डमा खटिएको टोलीले मङ्गलबार पक्राउ गरेको थियो । ठगीका आरोपितहरुले बाहिर भिजिनरी युथको साइनबोर्ड राखेर भित्र ग्लोबल ओरियन्स नेपाल र ग्लोबल लिभिङ अर्गनाइजेसनको नामबाट ठगी गर्ने गरेको खुलेको छ । फुड सप्लिमेन्टको नेटवर्किङ बिजनेसका नाममा एक जनाबाट ४५ हजारदेखि दुई लाख ६५ हजार रूपैयाँसम्म ठगी गरिएको पीडितको गुनासो छ ।
रौतहटलगायत देशका विभिन्न जिल्लाबाट युवायुवतीहरुलाई राम्रो कमाइ र सेवासुविधा हुने प्रलोभन देखाएर ल्याउने गरिएको पीडितले बताएका छन् । उनीहरुका अनुसार राम्रो कमाइ हुन्छ, हप्ता–हप्तामा तलब आउँछ, खान र बस्नको व्यवस्था छ, मोटरसाइकल र स्कुटर पनि कम्पनीले नै दिन्छ भनी प्रलोभन देखाएर ल्याइएको थियो । यहाँ ल्याइसकेपछि फुड सप्लिमेन्टहरु किन्न लगाइयो ।
आफूले किनेको फुड सप्लिमेन्ट जति धेरै बेच्न सक्यो त्यति धेरै स्टारहरु प्राप्त गर्न सकिने र नौवटासम्म स्टार पाउनेले राम्रो कमाइ गर्न सकिने आश्वासन दिइएको थियो । तलब दिनुको साटो लाखौँलाखको फुड सप्लिमेन्टहरु किन्न लगाइएको पीडितको गुनासो छ । आफू ठगिएको थाहा पाएपछि कतिपय युवायुवतीहरु पैसाको आश मारेर घर फर्किएको पनि पाइएको छ ।
नेटवर्किङ बिजनेसको नाममा ठगी गर्नेहरु समातिएपछि धेरै पीडितहरु सम्पर्कमा आएका छन् । एक जनाबाट सात लाख रूपैयाँसम्म ठगी गरिएको पीडितहरु बताउँछन् । भरतपुरको हाकिमचोक र बसपार्क क्षेत्रमा पनि ठगीका गतिविधिहरु भइरहेको उनीहरुले सूचना दिएका छन् ।



















