नवलपुर ३० असार । नवलपुरको कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
नवलपुरको कावासोती ३ मा निर्माणाधिन नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
निर्माणाधिन सभा हलमा ड्रिल गर्ने क्रममा करेन्ट लागेर बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका २ घर भई हाल कावासोती नगरपालिका २ मा डेरा गरी बस्ने ३५ बर्षीय सरोज थारुको मृत्यु भएको हो । आज दिउँसो करिब १२:५० बजेको समयमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते सरोज थारुलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । उक्त भवन समानन्तर जे.बि. बुद्ध हिमाली कन्ट्रक्सन प्रा.लि.द्वारा निर्माण जिम्मा लिएको हो । सरकारी भवनको सभाहलमा फर्मा सेटिङको लागि ड्रिल गर्ने क्रममा अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ ।



















