नवलपुर १४ साउन । आज बिहान नवलपुरको गैँडाकोट नगरपालिका-११ हर्कपुरमा रहेको बगैँचा एडभेन्चर रिसोर्टमा लागेको आगो नियन्त्रणमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार होटलमा ठूलो आगलागी भएको थियो । आगो करिब ३ घण्टामा नियन्त्रणमा लिइएको छ । बिहान १० बजेतिर लागेको आगो दिउँसो १ बजेतिर नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट करिब २० करोडको क्षति भएको रिसोर्टका सञ्चालक सन्तोष धितालले बताए । प्रहरीले पनि क्षतिको संकलन भइरहेकोले यकिन तथ्यांक आइ नसकेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक मधु नेपालले भने, यकिन तथ्यांक आइपुगेको छैन । क्षतिको विवरण संकलन हुने काम भइरहेको छ । रिसोर्ट संचालकले २० करोड क्षति भएको दावी गरेका छन् ।
आगो चितवनको भरतपुर महानगरपालिका र नवलपुरको कावासोती नगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
रिसोर्ट सञ्चालक सन्तोष धितालले भने किचनबाट वा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरेका छन् ।



















