गैडाकोट २१ पुस । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य केहरसिंह रानाले पार्टीसँगको करिब ३० वर्ष लामो राजनीतिक यात्रालाई टुंग्याउँदै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य केहरसिंह रानाले पार्टीसँगको करिब ३० वर्ष लामो राजनीतिक यात्रालाई टुंग्याउँदै औपचारिक रूपमा पार्टीबाट अलग हुने निर्णय गरेका छन् ।
राना नवलपुर जिल्लाको गैडाकोट नगरपालिका–१ निवासी हुन् । सार्वजनिक सन्देशमार्फत रानाले राष्ट्रिय जनमुक्ति पार्टीलाई केवल एउटा राजनीतिक संगठन मात्र नभई चेतना, संघर्ष र जीवनका अमूल्य स्मृतिहरूको स्रोतका रूपमा स्मरण गरेका छन् । समाजवादप्रतिको दृष्टिकोण र मानवीय मूल्यप्रतिको प्रतिबद्धताले आफ्नो राजनीतिक जीवनलाई निरन्तर मार्गदर्शन गर्दै आएको उनको भनाइ छ ।
आफ्नो राजनीतिक यात्राका क्रममा मार्गदर्शन, साथ र प्रेरणा प्रदान गर्ने आदरणीय स्व. कर्णबहादुर सुनारीसहित सहकर्मी, साथीहरू, शुभेच्छुक तथा सम्पूर्ण राष्ट्रिय जनमुक्ति पार्टी परिवारप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।
पार्टीबाट अलग हुने निर्णय सहज नभए पनि समयको माग, परिवर्तन र नयाँ सम्भावनालाई आत्मसात गर्दै जीवनको आगामी अध्यायतर्फ अघि बढ्न आवश्यक कदमका रूपमा यस निर्णयलाई लिएको रानाले बताएका छन् । यो निर्णय राजनीतिक विदाइ भए पनि व्यक्तिगत रूपमा आदर, स्नेह, सम्मान, आत्मीयता, मित्रता तथा सामाजिक प्रतिबद्धता यथावत् रहने उनले स्पष्ट पारेका छन् ।
अन्त्यमा, राष्ट्रिय जनमुक्ति पार्टीमा बिताएको सम्पूर्ण राजनीतिक यात्रालाई गर्व र कृतज्ञताका साथ स्मरण गर्दै पार्टीबाट प्राप्त चेतना, संघर्ष र सेवाभावलाई जीवनभरको अमूल्य सम्पत्तिका रूपमा लिएको रानाको भनाइ छ ।



















