बुलिङ्टार ०६ असार । बुलिङ्टार गाउँपालिका कार्यालयको आयोजनामा सञ्चालित “विद्यार्थीसँग अध्यक्ष कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ ।







गाउँपालिकाको “बस्न योग्य, हेर्न लायक, समृद्ध बुलिङ्टार” भन्ने मूल नारालाई आत्मसाथ गर्दै यो विशेष कार्यक्रम आयोजना गरिएको हो ।
बुलिङ्टार गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बुद्ध प्रसाद रानाभाट प्रमुख अतिथि र श्री छत्तीसा देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजमान श्रेष्ठ विशेष अतिथि का रूपमा रहनुभएको थियो ।







कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका शिक्षक साथीहरू तथा अन्य सरोकारवालाहरूको समेत आतिथ्यता र उपस्थिति रहेको थियो ।
बुलिङ्टार गाउँपालिका वडा नं. १, थामबेसी स्थित सोही विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए ।
कार्यक्रम अवधिभर विद्यार्थीहरूले आफ्नो विद्यालयमा भोग्दै आएका विभिन्न शैक्षिक, भौतिक तथा अन्य विविध समस्या र चुनौतीहरू गाउँपालिका अध्यक्ष, शाखाको प्रमुख र सरोकारवालाहरू समक्ष प्रत्यक्ष रूपमा राखेका थिए ।


विद्यार्थीका गुनासा र समस्या सुनेपछि गाउँपालिका नेतृत्वले ती समस्या समाधानका लागि प्रतिबद्धता समेत जनाएको छ ।
बिहान ठीक ११:०० बजे सुरु भएको उक्त संवाद तथा अन्तरक्रियामूलक कार्यक्रम भव्यताका साथ समापन भएको आयोजकले जनाएको छ ।















