नवलपुर, १४ असार । नवलपुरको कावासोतीमा स्कुटरले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
आइतबार (आज) साँझ अन्दाजी ६:३० बजेको समयमा कावासोती नगरपालिका वडा नं. १४ गोरसदी चोक स्थित भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो । डण्डाबाट सेतापानितर्फ जाँदै गरेको ग प्र ०४००२ प १३८० नम्बरको स्कुटर अनियन्त्रित भई गुडिरहेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि साइकल चालक बौदिकाली गाउँपालिका वडा नं. १ मिथुकरम बस्ने वर्ष ४१ का कृष्णचन्द्र श्रेष्ठ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र उपचारका लागि प्रादेशिक अस्पताल डण्डा पठाइएको छ ।
यस्तै दुर्घटनामा स्कुटर चालक र स्कुटरको पछाडि सवार युवा समेत घाइते भएका छन् । घाइते हुनेहरूमा कावासोती १४ थारु डण्डा बस्ने वर्ष १८ का स्कुटर चालक साहिल महतो रहेका छन् । उनको देव्रे हात र खुट्टामा सामान्य चोट लागेको र प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।
स्कुटरको पछाडि सवार सोही स्थानका वर्ष १७ का निसान खत्रीको अवस्था भने गम्भीर रहेको छ । उनको दुवै हात, खुट्टा र टाउकोमा भित्री चोट लागेका कारण प्रादेशिक अस्पताल डण्डामा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि साँझ ७:३० बजे भरतपुर सरकारी अस्पताल रेफर गरिएको छ ।






