बुलिङटार १५ असार । बुलिङटार गाउँपालिकामा रहेको श्री गणेश धार्मिक क्षेत्र व्यवस्थापन समितिले सामाजिक सञ्जालमा मन्दिरको स्थापना, सञ्चालन, आर्थिक सहयोग तथा व्यवस्थापनलाई लिएर फैलाइएका आरोप र भ्रमप्रति विस्तृत स्पष्टिकरण सार्वजनिक गरेको छ ।


समितिले गणेश धार्मिक क्षेत्र कानुनी रूपमा दर्ता भएको सार्वजनिक संस्था भएको, आफ्नै जग्गा, पान नम्बर, बैंक खाता तथा व्यवस्थापन समिति रहेको उल्लेख गर्दै मन्दिर कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभएको स्पष्ट पारेको छ। मन्दिर निर्माण र सञ्चालनमा स्थानीय सरकारबाट प्राप्त सहयोग सार्वजनिक धार्मिक क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवर्द्धनका लागि भएको पनि समितिको भनाइ छ ।


समितिले हालसम्म स्थायी पुजारी नियुक्त गर्न नसकिएको स्वीकार गर्दै आर्थिक स्रोतको अभावका कारण दैनिक पूजा र सरसफाइका लागि स्थानीय सहयोगीलाई करारमा खटाइएको जनाएको छ। सामाजिक सञ्जालमा फैलाइएका आरोपहरू तथ्यहीन, भ्रामक र संस्थाको प्रतिष्ठामाथि प्रहार गर्ने उद्देश्यबाट प्रेरित रहेको दाबी गर्दै आवश्यक परे प्रमाणसहित थप जवाफ दिने चेतावनी पनि दिएको छ ।
समितिले सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै सत्यतथ्य नबुझी भ्रम फैलाउने कार्य नगर्न र कुनै जिज्ञासा भए प्रत्यक्ष रूपमा संस्थासँग सम्पर्क गर्न आग्रह गरेको छ ।






