बुलिङटार १९ असार । नवलपुरको बुलिङ्टार गाउँपालिका-१, थामबेसीमा अवस्थित ‘भर्लादी खोला झरना’ प्राकृतिक सौन्दर्यको एक अनुपम उपहारका रूपमा ओझेलमा परेको छ ।


यस मनमोहक झरनाको बारेमा स्थानीय युवा समाजसेवी शिक्षक लोक प्रसाद रामदामले जानकारी दिनुभएको हो ।


हरियाली जङ्गल, अनौठा चट्टानी भू-भाग र पहाडको खोंचबाट बग्ने शीतल पानीको बहावले यो झरनालाई अत्यधिक मनमोहक बनाएको छ । करिब ५० देखि ७० मिटर उचाइबाट खस्ने यो प्राकृतिक झरनाको रूप विशेषगरी वर्षायाममा थप आकर्षक र विशाल देखिन्छ ।यस पर्यटकीय स्थलसम्म पुग्नका लागि ताले चोक, थामबेसीबाट करिब १.५ देखि २.५ किलोमिटरको पैदल दूरी पार गर्नुपर्छ । प्राकृतिक वन, चराचुरुङ्गीको चिरबिर आवाज र शान्त वातावरणको आनन्द लिँदै करिब ३० देखि ४५ मिनेटको पैदल यात्रापछि झरना स्थलमा पुग्न सकिन्छ । पिकनिक, प्रकृति अवलोकन, फोटोग्राफी तथा आन्तरिक पर्यटनका लागि यो स्थान उत्कृष्ट गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना बोकेको छ ।
बजारको कोलाहलबाट टाढा रहेको यो सुन्दर झरना आवश्यक प्रचार-प्रसार र पदमार्ग लगायतका न्यूनतम पूर्वाधारको अभावमा अझै पनि ओझेलमा परेको छ । स्थानीय तह र सरोकारवाला निकायले उचित ध्यान दिई यसलाई व्यवस्थित पर्यटकीय गन्तव्यको रूपमा विकास गरेमा समग्र नवलपुरकै आर्थिक र पर्यटकीय प्रवर्द्धनमा ठूलो टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।






