चितवन २९ असार । चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ मा जन्मिनुभएका प्रतिष्ठित लोक तथा दोहोरी गायक नारान पौडेल करिब डेढ दशक (१५-१६ वर्ष) अघिदेखिको आफ्नो साङ्गीतिक यात्रालाई फेरि नयाँ उचाइमा पुर्याउने तयारीमा जुट्नुभएको छ ।
विगतमा आफ्ना केही नितान्त व्यक्तिगत र व्यावहारिक समस्याका कारण सङ्गीत क्षेत्रबाट केही समय टाढा रहनुभएका पौडेल अहिले पूर्ण तयारीका साथ धमाकेदार पुनरागमन (कमब्याक) गर्दै हुनुहुन्छ ।१५-१६ वर्ष अगाडि नै गीत गाउन सुरु गर्नुभएका गायक पौडेलले नेपाली सङ्गीत आकाशलाई निकै चर्चित र लोकप्रिय सिर्जनाहरू सुम्पिसक्नुभएको छ ।
उहाँले गाउनुभएका ‘मैना चरी लाई’, ‘बांसैको सैया’ जस्ता सुमधुर लोक जुहारी र दर्शकको मनमा बस्न सफल रोइला गीत ‘के काम लाग्यो के रे’ तथा नारीहरूको महान् चाडलाई लक्षित गरी बजारमा ल्याइएको ‘पञ्चमी तिज गीत’ आज पनि धेरै स्रोताहरूको मानसपटलमा ताजा नै छन् । बीचको समयमा घरायसी र व्यक्तिगत समस्याका कारण साङ्गीतिक क्षेत्रमा केही समय टाढा हुँदा उहाँका स्रोता र शुभचिन्तकहरूले उहाँको खडेरी महसुस गरेका थिए । तर, सङ्गीतप्रतिको तीव्र लगाव र स्रोताहरूको मायाले गर्दा उहाँ पुराना समस्याहरूलाई पार गर्दै फेरि रेकर्डिङ स्टुडियोसम्म आइपुग्नुभएको छ ।
गायक नारान पौडेल भन्नुहुन्छ:”मैले १५–१६ वर्ष पहिले नै सङ्गीत यात्रा सुरु गरेर ‘मैना चरी लाई’, ‘बांसैको सैया’ जस्ता गीतहरू स्रोतामाझ ल्याएको थिएँ । तर, जीवनका केही उतारचढाव र आफ्नै समस्याहरूका कारण बीचमा अलिकति टाढा हुन पुग्यो । सङ्गीतबाट टाढा रहँदाको समय मेरा लागि सहज थिएन । अहिले मेरा पुराना समस्याहरू सुल्झिएका छन् । म आफ्नै जन्मभूमि चितवन, भरतपुर-१४ को माटो र देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली स्रोताहरूका लागि फेरि एकपटक बिल्कुलै नयाँ र ‘आफ्नै पाराको’ फरक साङ्गीतिक सिर्जना पस्किन पाउँदा निकै उत्साहित छु । “लामो समयको अन्तरालपछि आएका गायक पौडेलले बजारको आधुनिक माग र स्रोताको चाहना अनुसारकै मौलिक स्वादको गीत-सङ्गीत बजारमा ल्याउने तयारी गरिरहनुभएको छ ।
चितवनबाट नेपाली सङ्गीत आकाशमा स्थापित भई आफ्नै छुट्टै पहिचान बनाएका यी प्रतिभाशाली कलाकारको नयाँ कमब्याक गीत छिट्टै नै भिडियोसहित आधिकारिक डिजिटल प्लेटफर्महरू मार्फत सार्वजनिक गरिएको छ ।
लामो समयको अन्तरालपछि आउन लागेको उहाँको बिल्कुलै नयाँ र ‘आफ्नै पाराको’ मौलिक गीतमा नेपाली लोक दोहोरी क्षेत्रका नक्षत्रहरूको बलियो साथ रहेको छ । यस नयाँ गीतमा चर्चित लोक तथा दोहोरी गायक एवं प्रखर सर्जक सरोज बिरहीको उत्कृष्ट शब्द, सङ्गीत र एरेन्ज रहेको छ । गीतमा गायक नारान पौडेललाई नेपाली लोक गायन क्षेत्रकी सुमधुर स्वरकी धनी गायिका सुनितामी परियारले स्वरमा साथ दिनुभएको छ ।
अहिले सार्वजनिक गरिएको ‘आफ्नै पाराको’ नयाँ संगीतमा मोडल सन्जना गुरुङ अनि सरोज प्रजाले अभिनय गर्नुभएको छ । भने हिजो शुक्रबार सुनितामी परिवारको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
यस गीतमा निर्माता वा उत्पादक लक्षण सापकोटाले गर्नु भएको छ ।








