टोल बहादुर राना मगर,


बुलिङटार ३ असार । नवलपुरको बुलिङटार गाउँपालिका–४ स्थित अर्खला र सुनारथुङ्की गाउँलाई जोड्ने देवसत खोलामा वर्षायाममा आउने बाढीले स्थानीयको दैनिक आवतजावत प्रभावित हुँदै आएको छ ।


सामान्य वर्षा हुँदा पनि खोला उर्लिने भएकाले विद्यार्थी, किसान, व्यापारी र बिरामी बोकेर हिँड्ने स्थानीयलाई सास्ती हुने गरेको छ । वर्षायाममा खोलामा आएको बाढीका कारण आवतजावत अवरुद्ध हुने र जोखिम बढ्ने गरेको स्थानीय बताउँछन् ।
नवलपुर क्षेत्र नं. १ अन्तर्गत पर्ने यो बस्तीले लामो समयदेखि आधारभूत पूर्वाधारको अभाव झेल्दै आएको छ । यस क्षेत्रबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला तीन पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। हाल राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश महामन्त्री राजन गौतम पनि यही क्षेत्रसँग जोडिएका छन् । तर, स्थानीयका अनुसार राजनीतिक नेतृत्व फेरिए पनि खोलामा सुरक्षित पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।
वर्षायाममा देवसत खोला उर्लिएपछि विद्यार्थी विद्यालय जान, स्थानीय बजार पुग्न, वडा कार्यालयका काम गर्न वा बिरामीलाई अस्पताल लैजानसमेत कठिन हुने गरेको छ । बाढीका बेला जोखिम झन् बढ्ने भएकाले स्थानीयले सुरक्षित संरचनाको माग गर्दै आएका छन् ।
२१औँ शताब्दीमा पनि सुरक्षित पुल नहुँदा वर्षायाममा नियमित जीवन प्रभावित हुनुपरेको स्थानीयको गुनासो छ । सम्बन्धित निकायले कहिले समाधान गर्छ भन्ने प्रश्न अझै अनुत्तरित छ ।






