लमजुङ ९ साउन । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ४, रम्घास्थित भानुघाँसी पार्कमा रहेको घाँसी खड्कबहादुर ठाडामगरको शालिक तोडफोड भएको छ ।
अज्ञात समूहद्वारा रातिको समयमा गरिएको यस बर्बर र कायरतापूर्ण तोडफोडको घटनाप्रति नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण गराउँदै घोर भत्सर्ना गरेको छ ।
नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष खडक बहादुर आले मगर र सचिव भोज प्रसाद खण्डलुक मगरद्वारा संयुक्त रूपमा जारी प्रेस नोटमा यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध, आक्रोशित र उद्वेलित बनाएको उल्लेख गरिएको छ ।
घाँसी खड्कबहादुर ठाडामगर केवल एक सामान्य पात्र मात्र नभई आफ्ना कडा श्रम, पसिना र लोककल्याणकारी विचारले नेपाली भाषा-साहित्यका युगपुरुष आदिकवि भानुभक्त आचार्यलाई प्रेरणा दिने महान् क्रान्तिकारी चेतना र सामाजिक स्वाभिमानका अद्वितीय प्रतीक भएको प्रेस नोटमा स्मरण गरिएको छ ।
घाँस बेचेर भए पनि कुवा खनाई नाम कमाउने उनको निःस्वार्थ भावनाले नै नेपाली साहित्यमा रामायणको जन्म गराएको ऐतिहासिक सत्यलाई कसैले तोडमतोड गर्न नसक्ने संघको ठहर छ ।
रातिको अन्धकारमा लुकेर गरिएको यो तोडफोड भूलवश भएको नभई इतिहास, पहिचान र सामाजिक सद्भाव भत्काउन उद्यत संकुचित र विभेदकारी मानसिकता बोकेका तत्त्वहरूले जानाजानी गरेको नियतवश अपराध भएको संघले जनाएको छ ।
नेपाल मगर लेखक संघले प्रहरी तथा स्थानीय प्रशासनसँग कुनै पनि दबाब र प्रभावमा नपरी घटनाको निष्पक्ष छानबिन र गम्भीर अनुसन्धान गरी दोषीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । साथै, क्षतिग्रस्त शालिकको पूर्ण रूपमा सम्मानका साथ पुनर्स्थापना गर्न जोडदार माग गरिएको छ ।
प्रशासनले यस विषयमा आलटाल गरेमा वा दोषीलाई उकास्ने दुस्साहस गरेमा इतिहास, स्वाभिमान र न्यायको रक्षाका लागि सम्पूर्ण न्यायप्रेमी, जनजातीय समुदाय र आम नागरिकहरू सशक्त ढङ्गले आवाज उठाउन बाध्य हुने चेतावनी समेत प्रेस नोटमार्फत दिइएको छ ।






