नवलपुर १३साउन । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १६ अन्तर्गत पर्ने पहाडी बस्तीहरू बाह्रकोल र बेलस्वारा जाने सडक वर्षायाम सुरु हुनासाथ स्थानीयवासीका लागि ठूलो सास्तीको कारण बन्ने गरेको छ ।


हरेक वर्ष वर्षाको समयमा सडकमा पहिरो जाने, बाटो हिलाम्मे हुने र ठाउँ–ठाउँमा सडक अवरुद्ध हुने समस्याले गर्दा स्थानीय नागरिकहरू जोखिमपूर्ण एवं कष्टकर यात्रा गर्न बाध्य भएका छन्।सडकको अवस्था दयनीय बन्दा स्थानीयको दैनिक आवतजावतमा मात्र नभई आकस्मिक रूपमा बिरामी पर्दा उपचारका लागि अस्पताल पुर्याउन समेत निकै कठिन हुने गरेको छ ।


यसका साथै स्थानीय स्तरमा उत्पादित कृषिजन्य सामग्रीहरूलाई समयमै बजारसम्म पुर्याउन नसक्दा किसानहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको स्थानीयको गुनासो छ। बाटो बिग्रेकै कारण सवारीसाधन चल्न नसक्दा धेरैजसो यात्रुहरू घण्टौँ पैदल हिँड्न बाध्य छन्।बाह्रकोल र बेलस्वारा देवचुलीकै विकट पहाडी क्षेत्रमा पर्ने बस्तीहरू हुन् । हरेक वर्ष वर्षायाममा एउटै समस्या दोहोरिने गरेको भन्दै स्थानीयवासीले आक्रोश र दुःख व्यक्त गरेका छन् । समस्याको अल्पकालीन मर्मत मात्र हुने तर स्थायी समाधान नहुने परिपाटीले गर्दा आफूहरूले वर्षौँदेखि दुःख पाइरहेको उनीहरूको भनाइ छ ।
स्थानीयवासीले सम्बन्धित निकाय तथा स्थानीय सरकारसँग यस सडकको दीर्घकालीन स्तरोन्नति (पिच वा ग्राभेल), व्यवस्थित नाली निर्माण, पहिरो नियन्त्रण र जोखिमपूर्ण स्थानहरूमा पक्की पर्खाल (मेसिनरी वा ग्याबियन वाल) निर्माण गरी सुरक्षित आवागमनको व्यवस्था मिलाउन जोडदार माग गरेका छन्। हिउँद–वर्षा बाह्रै महिना सहज रूपमा सवारीसाधन सञ्चालन हुन सक्ने गरी सडक निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राख्न स्थानीयले जनप्रतिनिधि र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।






