बुलिङटार, साउन १६ । बुलिङटार गाउँपालिका वडा नं. १ढाँडबेसी स्थित थामडाँडामा एक विशेष कार्यक्रमका बीच वृक्षारोपण कार्य सम्पन्न भएको छ ।


ढाँडबेसी टोल विकास संस्थाका अध्यक्ष भोज कुमार दिसुवाको विशेष पहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । ढाँडबेसी टोल विकास संस्थाको आयोजना तथा बुलिङटार गाउँपालिका कृषि शाखाको प्राविधिक एवं सामग्री सहयोगमा थामडाँडा क्षेत्रमा वृक्षारोपण गरिएको हो ।


स्थानीय वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न प्रजातिका बोटबिरुवाहरू रोपिएका छन् ।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, ढाँडबेसी टोल विकास संस्थाका पदाधिकारी, कृषि शाखाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो । अध्यक्ष भोज कुमार दिसुवाको नेतृत्वमा सहभागीहरूले रोपिएका बिरुवाहरूको उचित संरक्षण, गोडमेल र रेखदेख गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।






