कावासोती १६ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा ट्रकको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।


कावासोती नगरपालिका–८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान यो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले पैदलयात्री स्थानीय ७९ वर्षीय तुलसी प्रसाद च्वाईलाई ठक्कर दिएको थियो ।


ट्रकको ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो । अहिले भने राजमार्गमा सवारी साधनहरू सुचारु रूपमा सञ्चालन भइरहेका छन् । घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरीले बिहान करिब ७:३० बजे मध्यबिन्दु नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गबाट बा ३ ख १९०३ नम्बरको एक शंकास्पद ट्रक फेला पारी नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न ट्रक चालक भने अहिले फरार रहेकाले उनको तीव्र रूपमा खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।






