नवलपुर, भदौ ४ गते। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४ भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन् ।

आफ्नी हजुरआमा हेमकुमारी आले च्याउ टिपेर घर फर्किने क्रममा ती बालक अचानक हराएका थिए । बालक हराएलगत्तै स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उनको खोजी कार्यलाई तीव्र बनाएका थिए ।
बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस प्रगतिनगरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौड्यालको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको थियो ।

यसैगरी, इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी निरीक्षक भरत थापा क्षेत्रीको नेतृत्वमा ७ जनाको प्रहरी टोली र स्थानीयवासी पनि खोजी कार्यमा लगातार जुटेका थिए ।
सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त र निरन्तर प्रयासपछि भदौ ४ गते बिहान ९ः४० बजे बालकलाई घरभन्दा करिब १.५ किलोमिटर उत्तरतर्फ रहेको जंगलमा फेला पारिएको हो । फेला परेका बालकको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।






