बुलिङटार १७ नवलपुर । बुलिङटार गाउँपालिकाले स्थानीय बजारमा बिक्री वितरण भइरहेका वस्तु तथा सेवाको गुणस्तर, मूल्य तथा उपभोक्ता हितको अवस्थाबारे अनुगमन तथा निरीक्षण गरेको छ ।



बुधबार २०८३ साल भदौ १७ गते गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष, वडा अध्यक्ष, लेखा अधिकृत, प्रशासन अधिकृत तथा बुलिङटार प्रहरी चौकीको संयुक्त टोलीले बुलिङटार गाउँपालिका–३ मा बजार अनुगमन तथा निरीक्षण गरेको हो ।



अनुगमनका क्रममा बजारमा बिक्री वितरण भइरहेका वस्तु तथा सेवाको गुणस्तर, मूल्यसूची, म्याद, उपभोग्य अवस्थाका सामग्रीको उपलब्धता, व्यवसाय दर्ता तथा सञ्चालनको अवस्था लगायत उपभोक्ताको हकहितसँग सम्बन्धित विषयमा स्थलगत निरीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले बजार अनुगमनको उद्देश्य व्यवसायीलाई दुःख दिने वा व्यवसायलाई निरुत्साहित गर्ने नभई देखिएका कमी–कमजोरीलाई सुधारतर्फ लैजाने, व्यवसायीलाई जिम्मेवार बनाउने र उपभोक्ताको अधिकार सुनिश्चित गर्ने रहेको जनाएको छ ।
अनुगमनका क्रममा व्यवसायीहरूलाई प्रचलित कानून, मापदण्ड तथा उपभोक्ता हितसम्बन्धी व्यवस्थाको पालना गर्न आवश्यक सुझाव, सचेतना तथा सहजीकरणसमेत प्रदान गरिएको थियो ।

गाउँपालिकाले व्यवसायीलाई स्थानीय अर्थतन्त्रका महत्वपूर्ण साझेदारका रूपमा लिँदै उनीहरूको मेहनत, लगानी र उद्यमशीलताको सम्मान गर्दै सरकार र व्यवसायीबीच सहकार्यबाट व्यवस्थित तथा सभ्य बजार निर्माण गर्न सकिने जनाएको छ ।
गाउँपालिकाका अनुसार कानूनको पालना गर्नु व्यवसायीको दायित्व हो भने व्यवसायीलाई आवश्यक सहजीकरण गर्नु स्थानीय सरकारको कर्तव्य हो। यी दुई पक्षबीचको सहकार्यबाट उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न सकिने गाउँपालिकाको भनाइ छ ।
बजारमा देखिएका कमी–कमजोरीलाई क्रमशः सुधार गर्दै उपभोक्ताको अधिकारलाई प्राथमिकतामा राख्ने तथा स्थानीय व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यसहित गाउँपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
गाउँपालिकाले ‘कारबाहीभन्दा पहिले सुधार, नियन्त्रणभन्दा पहिले सहजीकरण’ भन्ने अवधारणालाई आत्मसात् गर्दै स्वच्छ, सुरक्षित, पारदर्शी तथा उपभोक्तामैत्री बजार निर्माणमा प्रतिबद्ध रहेको जनाएको छ ।






