बुलिङटार १९ नवलपुर । बुलिङटार गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा डाँडाझेरी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards – MSS) सम्बन्धी प्रगति लेखाजोखा तथा समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाहरूलाई अझ प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा डाँडाझेरी स्वास्थ्य चौकीको वर्तमान अवस्था, उपलब्ध सेवाहरू, भौतिक पूर्वाधार, जनशक्ति र सेवाको गुणस्तरका विभिन्न सूचकहरूमा आधारित रहेर विस्तृत मूल्याङ्कन गरिएको थियो ।
समीक्षाका क्रममा स्वास्थ्य चौकीको मौजुदा अवस्थाको विश्लेषण गर्दै आगामी दिनमा सेवा प्रवाहलाई थप उत्कृष्ट, नागरिकमैत्री र प्रविधिमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
स्वास्थ्य शाखाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नागरिकलाई सहज एवं गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउन आगामी कार्यदिशाबारे पनि छलफल भएको थियोल।
स्वास्थ्य क्षेत्रको चौतर्फी विकास र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न निरन्तर खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाहरू प्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ ।






