बुलिङटार १९ भदौ । नवलपुरको बुलिङटार गाउँपालिका–१ ढाँडबेँसीमा स्थापित सिर्जना महिला समूहले गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावित समुदायलाई रु. १० हजार आर्थिक सहयोग गरेको छ ।


बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले उक्त रकम सहयोग गरेको हो। विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व बहन गर्दै समूहले बाढीपीडितका लागि सहयोग गरेको जनाएको छ ।


सिर्जना महिला समूहका सदस्यहरूको सहभागितामा सहयोग हस्तान्तरण गरिएको थियो । भदौ २९ गते तीज पर्वको अवसरमा हुने खर्चलाई कटौती गर्दै समूहले बाढीपीडित समुदायको राहतका लागि उक्त रकम सहयोग गरेको हो । चाडपर्वमा हुने खर्चलाई सामाजिक सेवामा लगाउँदै विपद्मा परेका समुदायलाई सहयोग गर्ने समूहको यो पहललाई स्थानीयस्तरमा सकारात्मक रूपमा लिइएको छ ।
विपद्को समयमा प्रभावित समुदायलाई स्थानीयस्तरबाट समेत साथ र सहयोग आवश्यक हुने भन्दै समूहले आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ ।






