नवलपरासी (बर्दघाट-सुस्ता पूर्व), १२ असोज । निरन्तरको अविरल वर्षाका कारण बुलिङटार गाउँपालिका–२, भाङबारी क्षेत्र लेदोसहितको बाढी र डुबानले आक्रान्त बनेको छ ।


पहाडबाट खसेको लेदोसहितको बाढी स्थानीय तिल नारायण श्रेष्ठको घरमा पस्दा त्यहाँ रहेका २२ दिनकी सुत्केरी महिला र नवजात शिशुको जीवन गम्भीर जोखिममा परेको थियो ।


वडा अध्यक्ष कमल राज बाकाबल मगर, वडा सभापति ओम प्रकाश सिंजाली, स्थानीय प्रशासन, युवाहरू र उद्धार टोलीको संयुक्त समन्वयमा सुत्केरी र शिशुसहित सम्पूर्ण परिवारलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सारिएको छ ।
बढी पीडितलाई बन्दोबस्त मिलाउने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ । विपद्को यस घडीमा उद्धार टोली र स्थानीय युवाहरूको द्रुत सक्रियताले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।






