नवलपुर २१ असोज । असल छिमेकी नेपाल पोखराले नवलपुरका बुलिङटार, हुप्सेकोट र बौदीकाली गाउँपालिकाका युवालाई लक्षित गरी सीटीईभीटी तह–२ परीक्षाको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।


युवा लक्षित रोजगार तथा उत्पादकत्व अभिवृद्धि परियोजना अन्तर्गत प्लम्बिङ र इलेक्ट्रिसियन विषयमा ३० दिने तयारी कक्षा सञ्चालन गर्न लागिएको हो । दुवै विषयमा १५/१५ जना सहभागी रहने र तालिम आवासीय हुने जनाइएको छ ।


असल छिमेकी नेपाल कावासोती शाखाका सुपरभाइजर नवराज मझाकोटीका अनुसार, सीटीईभीटी तह–१ उत्तीर्ण गरेका उम्मेदवारले कम्तीमा एक वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ । तह–१ उत्तीर्ण नगरेका वा परीक्षा नदिएका उम्मेदवारका लागि भने सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्षको कार्य अनुभव आवश्यक पर्नेछ ।
सीटीईभीटी तह–२ परीक्षाको फाराम भरेका तथा स्वीकृत भएका इच्छुक युवालाई तयारी कक्षामा सहभागी गराइनेछ । तालिमपछि सहभागीहरूलाई सम्बन्धित क्षेत्रमा व्यवसाय, स्वरोजगार वा रोजगारीमा अनिवार्य रूपमा संलग्न हुनुपर्ने व्यवस्था गरिएको छ ।
मझाकोटीका अनुसार, सीप भएका युवालाई सीटीईभीटी तह–२ परीक्षा उत्तीर्ण गर्न सहयोग पुर्याउँदै रोजगारी तथा स्वरोजगारका अवसरमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।






