बुलिङटार २६ असोज नवलपरासी पूर्व। नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–१, डाँडबेसी स्थित श्री अरुणोदय युवा क्लबले आफ्नो ३१औँ वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।





“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित आयोजना हुन लागेको वार्षिक उत्सवमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लोकदोहोरी धमाका र बाइक स्लो रेसलगायतका कार्यक्रम समावेश गरिएका छन् ।
क्लबका अनुसार वार्षिक उत्सव २०८३ कात्तिक ४ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ । यसै अवसरमा कात्तिक ५ गते राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सांगीतिक कार्यक्रममा लोकप्रिय लोकपप गायक सञ्जीव सिंह राना, लोकदोहोरी गायक हेमन्त आले र लोकदोहोरी गायिका आशा बी.सी.को बेजोड प्रस्तुति रहनेछ । कलाकारहरूको प्रस्तुतिले उत्सवलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा विजेता टोलीलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । पुरुष भलिबलतर्फ प्रथम पुरस्कार १००१११/- द्वितीय पुरस्कार ५०,०५५/- र तृतीय पुरस्कार २५,०२५/-निर्धारण गरिएको छ । महिला भलिबलतर्फ प्रथम हुने टोलीले १० हजार रुपैयाँ र द्वितीय हुने टोलीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बाइक स्लो रेसका विजेतालाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
उत्सवमा सर्वोत्कृष्ट खेलाडी, बेस्ट स्पाइकर, बेस्ट सेटर र बेस्ट लिब्रोलाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगितामा सहभागी हुने टोलीले कात्तिक ५ गतेसम्म टिम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ ।

स्थानीय खेलकुदको विकास, युवाको प्रतिभा पहिचान, कला–संस्कृतिको संरक्षण तथा पर्यटन र मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उत्सवमा सहभागी भई कार्यक्रम सफल बनाउन क्लबले सम्पूर्ण स्थानीयवासी, खेलप्रेमी तथा संगीतप्रेमीलाई आग्रह गरेको छ ।
कार्यक्रम श्री अरुणोदय युवा क्लबको प्राङ्गण, बुलिङटार गाउँपालिका–१, डाँडबेसी, नवलपरासी पूर्वमा सञ्चालन हुनेछ ।
आयोजक: श्री अरुणोदय युवा क्लब, बुलिङटार गाउँपालिका–१, डाँडबेसी, नवलपरासी पूर्व ।






