टोप कामु मगर
बुलिङटार । नेपाली कांग्रेस बुलिङटार गाउँपालिकाले निर्वाचनमा अन्तरघात गर्ने नेताकार्यकर्ताहरुलाई कार्बाहीको सिफारिस गर्न अझै सकेको छैन । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन नेकपा एमालेका उम्मेदवारलाई सघाएको भन्दै नेपाली कांग्रेस बुलिङटारमा असन्तुष्ट रहेको छ ।
निर्वाचनको मत परिणाम आए लगतै कांग्रेस बुलिङटारले आफ्नो उम्मेदवारलाई हराउन नेकपा एमालेका उम्मेदवारलाई सघाएको भन्दै, पटक पटक वडा र पालिकाको बैठकमा माग राखेका थिए । स्थानीय नेताकार्यकर्ताहरुले पनि पार्टीका उम्मेदवारलाई हराउन भुमिका खेलेको आरोपमा अन्तरघात गर्नेलाई पार्टीले कार्बाही गरि निष्कासन गर्नेसमेत माग राखेका छन ।
उक्त कुरा यस अनलाईनका संबाददाताले कांग्रेस नवलपुर जिल्ला सभापति महेन्द्र ध्वज जिसीसंग टेलिफोन बार्ता गर्दा, अन्तरघात गर्नु भनेको मतदाताको अधिकारलाई कुठाराघात गर्नु हो, भन्दै तत्काल वडा र पालिकाबाट अन्तरघात गर्ने नेताकार्यकर्ताहरुको नाम पहिचान गरि प्रमाणसहित कार्बाहीको माग गर्दै निबेदन आए आफुले कुनै कसुर नराखी तुरुन्तै कार्बाही गर्ने बताएका छन । वहाँले अन्तरघात गर्ने, जोसुकैलाई पार्टीले कार्बाही गर्ने बचनसमेत दिएको छ ।
बुलिङटार कांग्रेसले पार्टीका उम्मेदवारलाई हराउन अन्तरघात गरेको आरोपमा तत्कालिन जिल्ला समन्वय समिती नवलपुरका सभापति चेस राम आले, गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीति सल्लाहकार खड्का बहादुर कमाल (कुमाल), र नेपाली कांग्रेस नवलपुरका बर्तमान सचिव होमराज रानाभाटलाई कार्बाहीको माग गरेका छन ।
बुलिङटार कांग्रेसका एक जना कार्यकर्ताले पार्टीलाई हराउन बिपक्ष दलका उम्मेदवारलाई सहयोग गरेको नेताकार्यकर्ताहरुको पहिचान गरि कार्बाहीको सिफारिस गर्ने बताएका थिए । तर, निर्वाचन सकिएको महिनौ दिन पूरा हुदासमेत वडा र पालिकाबाट जिल्ला कार्यसमितिमा अहिलेसम्म कार्बाहीको सिफारिस गर्न नसक्नु बिडम्वना छ । उता टोल, वडा, पालिका र जिल्लासम्म कांग्रेसका उम्मेदवारलाई हराउने अन्तरघात गर्ने ब्यक्तिको नाम गुन्जिरहेको छ । तर, स्थानीय र जिल्लाका नेताकार्यकर्ताहरुले बेवास्ता गर्दा बुलिङटारका स्थानीय कांग्रेस समर्थकहरु अगामी प्रदेश र प्रतिनिधि निर्वाचनको लागि नयाँ पार्टीलाई भोट दिने बताएका छन ।



















