नवलपुर, असार १४ । नेपाली काँग्रेसका युवा नेता शंकर तिवारीले आगामी संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । उक्त क्षेत्रका स्थानीय नेता तथा कार्यकर्ताको सल्लाह अनुसार आफ्नो उम्मेदवारी दाबी रहेको तिवारीले जानकारी दिए ।
उनले भने ‘प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संवादमा आउनु भएका बुङदी काली, कावासोती, मध्यबिन्दु, हुप्सेकोट हुँदै विनयी त्रिवेणीसम्मका नेतागणदेखि मतदातासम्मको सल्लाह, आशीर्वाद, आग्रह, शुभकामना मुताबिक नेपाली कांग्रेस पार्टीका तर्फबाट नवलपुर २ बाट मेरो पनि उम्मेदवारीमा दाबी रहने सहर्ष जानकारी गराउँदछु ।’
गत निर्वाचनमा काँग्रेसतर्फबाट उपविजेता विष्णु कार्की र व्यवसायी विनोद चौधरीले आकांक्षा राखेको नवलपुर क्षेत्र नं २ मा आफ्नो पनि दाबी रहने उनले बताए । परम्परागत राजनीतिमा बदलाव खोजिरहेका युवा पुस्ता र पहिलो पटक भोट हाल्ने मतदाता माझ अर्कै लहर चलिरहेको भन्दै मतदाताले राजनीतिमा पुस्तान्तरण खोजिरहेको तिवारीले बताए ।
काँग्रेसको केन्द्रीय सदस्य समेत रहेका विनोद चौधरीले गत शुक्रबार पत्रकार भेटघाटमा नवलपुर क्षेत्र नं २ बाट उम्मेदवार हुने इच्छा व्यक्त गरेका थिए । क्षेत्र नं २ मा चौधरी, कार्की र तिवारीले इच्छा देखाएका छन् । नं १ भने नेता शशांक कोइरालाको निर्वाचन क्षेत्र हो ।



















