काठमाडौं, असार १९ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (आइतबार) बस्दैछ । पार्टीको महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो ।
गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेका छैनन् । आजको बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन गर्ने कार्यसूची रहेका छन् ।
गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । त्यस्तै केन्द्रीय सदस्यको सङ्ख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ । साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ ।



















