नवलपुर, साउन ४ । स्वास्थ्यकर्मीको करार नथपिँदा पूर्वी नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु अस्पतालले पीसीआर परीक्षण सेवा आइतबारदेखि बन्द गरेको छ ।
कोरोनाकालीन ४५ स्वास्थ्यकर्मीको अवधि शनिबारबाट सकिएको छ । उक्त अस्पताललाई १५ बाट ५० बेडमा स्तरोन्नति गरिएको भए पनि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कति जनशक्ति आवश्यक पर्ने भन्ने सर्भे नै गरेको छैन । जसका कारण दरबन्दी सिर्जना भएको छैन । १५ बेड हुँदा ३१ जनाको दरबन्दी भएकोमा मन्त्रालयबाट ११ जना पूर्ति भएको छ । ४५ जना कर्मचारी अस्पताल विकास समितिले आन्तरिक स्रोतबाट राखेको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरबहादुर थापाले आधाजसो स्वास्थ्यकर्मी बाहिरिँदा सेवा प्रभावित हुने भएकाले हाल तीमध्ये इच्छुकलाई विकास समितिले निर्वाह भत्ता दिने गरी काममा बोलाइएको बताए । ‘आइतबारसम्म उहाँहरूले काम गर्नुभयो । सोमबारबाट निर्वाह भत्ता लिएर काम गर्न इच्छुकलाई बोलाएका छौं,’ उनले भने, ‘कति आउनुहुन्छ हेरौं ।’ जनशक्ति घट्दा भइरहेका स्वास्थ्यकर्मी दोहोरिएर खट्नुपर्दा गुणस्तरीय स्वास्थ्य सेवामा असर पुग्ने बताए ।



















