पोखरा, साउन ४ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मेयर आचार्यले बुधबार महानगरपालिकाको वेबसाइटको प्रोफाइलमा बायोडाटासँगै सम्पत्ति विवरण राखेर सार्वजनिक गरेका हुन् ।
उनले अभिभावक र सन्तानका नाममा भएको सम्पत्ति उल्लेख नगरी आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण मात्र सार्वजनिक गरेको जानकारी दिएका छन् । सार्वजनिक गरेको विवरणअनुसार मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६१६ रूपैयाँ बराबरको सम्पत्ति छ । जसमा उनले २ करोड ८५ लाख रूपैयाँ बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग ऋण लिएको उल्लेख गरेका छन् ।
ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको आचार्यको सम्पत्ति विवरणबाट थाहा पाउन सकिन्छ । मेयर आचार्यले सबैभन्दा धेरै रकम सेयरमा रहेको उल्लेख गरेका छन् । विभिन्न कम्पनीमा सेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको उनले विवरणमा भरेका छन् ।
पोखरा– ९ नयाँ बजारमा श्रीमती पुष्पकुमारी पौडेलका नाममा ९ करोड २५ लाख मूल्य बराबरको दुई वटा भवन, काठमाडौंको सितापाइलामा श्रीमतीकै नाममा एक करोड ८५ लाख मूल्य बराबरको एउटा भवन रहेको आचार्यले उल्लेख गरेका छन् । मेयर आचार्यका नाममा पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा र दोलखाको हेवामा उनकै नाममा ८७ लाख पर्ने जग्गा छ ।
उनले दुई करोड मूल्य बराबरका ४ वटा गाडी र ३ वटा स्कुटर आफूसँग रहेको उल्लेख गरेका छन् । उनीसँग बैंक र हातमा गरी नगद १५ लाख रूपैयाँ भएको समेत सम्पत्ति विवरणमा खुलाएका छन् । यस्तै उनीसँग ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ।
मेयर आचार्य विभिन्न जलविद्युत आयोजनाका लगानीकर्ता हुन् भने उनी करिब एक दर्जन व्यावसायिक संस्थामा आवद्ध छन् । उनले यो विवरणमा बावुको नाममा रहेको सम्पत्ति समावेश नगरेको जनाएका छन् । आचार्यले आफूले कुनै पनि वित्तीय गल्ती नगरेको पनि बताएका छन् ।



















