कावासोती । नेकपा एमाले नवलपुरले भोलि सोमबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जबजका मान्यताका आधारमा पार्टी निर्माण र परिचालन, स्थानीय तह निर्वाचनको सन्देश र आगामी निर्वाचनको तयारी, पार्टी र जनप्रतिनिधि बिचको अन्तर्सम्बन्ध र समाजवादका आधार निर्माणका योजनाहरू साथै पार्टी सञ्चालन विधि, पद्धति, अनुसासन र आचारसंहिताका विषयमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम सञ्चालन हुने एमाले नवलपुरका उप सचिव भिमलाल कँडेलले बताउनुभयो ।
साउन १६ गते सोमबार बिहान ११ बजेबाट कावासोतीमा रहेको स्वस्तिक पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम हुने बताउनुभयो । प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटी सदस्य र जिल्ला सल्लाहकार परिषद सदस्यहरू, ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू, जिल्ला लेखा कमिटीका सदस्यहरू, सबै जिल्ला विभागका सदस्यहरू, जन सङ्गठनका जिल्ला सदस्यहरू, सबै पालिका कमिटीका सदस्य र पालिका सल्लाहकार परिषदका सदस्यहरू, सबै वडा कमिटीका अध्यक्षहरू, जिल्ला समन्वय समिति र स्थानीय पालिकाका सबै जनप्रतिनिधिहरू, उपविजेता वडाध्यक्ष सहितको सहभागिता रहने उप सचिव कँडेलले बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सहितका नेताहरूले प्रशिक्षण प्रदान गर्ने उहाँले बताउनुभयो । एमाले नवलपुरले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम लगतै पालिका देखि वडासम्म प्रशिक्षण भेलाहरू राख्नेसमेत तयारी गरेको छ ।
पार्टीलाई मजबुत र सङ्गठित गराउँदै अब हुने प्रदेश र संघको निर्वाचनको तयारीमा एमाले नवलपुर अघि बढेको बताएका छन ।



















