काठमाडौं । सत्ता गठबन्धनको आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको संयोजकमा कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला चयन भएका छन् । कार्यदलको सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो।
सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कार्यदललाई व्यवस्थित बनाउन सिटौलालाई संयोजक बनाइएको बताए। उनले भने, ‘सिट बाँडफाँडबारे सबै साथीहरूले आफ्नो धारणा राख्नुभयो। अर्को बैठक २६ गते बस्नेछ।’ आजको बैठकमा कार्यदलका सदस्यहरूबीच ससम्मान तरिकाबाट सिट बाँडफाँट गर्ने प्रारम्भिक सहमति भएको स्रोतले बताएको छ।
सत्ता गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको यो पहिलो बैठक हो। कार्यदलले दिएको सुझावअनुसार गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँटको टुंगो लगाउनेछन्। आजै बिहान कांग्रेस शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा नेताहरूले समान प्रतिनिधित्व हुनेगरी सिट बाँडफाट गर्न सुझाव दिएका थिए।
कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २-२ जनाको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।
सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरिसकेको छ। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्। साउन मसान्तसम्म सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिन गठबन्धनले कार्यदल गठन गरेको हो। सिटको बाँडफाँट हरेक निर्वाचन क्षेत्रको धरातलीय यथार्थका आधारमा हुने कांग्रेसले जनाएको छ।



















