काठमाडौ । सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटमा औपचारिक सहमति जुटाउने बताइएको छ ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार आजको बैठकले सिट बाँडफाँडको अन्तिम टुंगो लगाउनेछ । केही नमिलेका विषयमा सहमति जुटाएर आज दिनभरमा सिट बाँडफाँट टुंगिने उनको भनाइ छ । आइतबारको बैठकमा सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको थियो ।
उक्त बैठकमा धेरै कुरा मिलिसकेको र कतिपय कुरा मिल्न बाँकी रहेको रिपोर्टिङ भएको बताउँदै खनालले आजको बैठकमा नमिलेका कुरामा सहमति खोजिने बताए ।



















