विजयनगर । जनता समाजवादी पार्टी नेपालले विजयनगर ६ खडैचामा पार्टी कार्यालय उद्घाटन गरेको छ । बुधबार एक कार्यक्रमका वीच जनता समाजवादी पार्टी नेपालले पार्टी कार्यालय उद्घाटन गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज नविन सुनुवारको प्रमुख आतिथ्यमा पार्टी कार्यालय उद्घाटन गरिएको छ । कार्यालय समुद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सुनुवाइरले काँग्रेस, कम्युनिष्ट जस्ता पुराना पार्टीहरुले राजनीतिलाई समाज सेवा नभई कमाइ खाने भाँडो बनाएर राजनीतिमा अनेक विकृति र विसंगति भित्र्याएकाले जनता समाजवादी पार्टीले ती विकृति विसंगतिको अन्त्य गर्दै जनताको चाहना बमोजिमको विकास, समृद्धि, उन्नति र प्रगति ल्याउने बताए । उनले देशमा राजनीतिक परिवर्तनसँगै भएको राज्यको पुनर्संरचनाले आम गरिखाने जनताको दैनिकी सुधार गर्नुपर्नेमा त्यस्तो हुन नसकेकोले अब जनताको अवस्था फेर्ने राजनीति आवश्यक रहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै पार्टीका प्रदेश अध्यक्ष तथा क्षेत्र नं ३ (ख) का प्रदेश सदस्यका उम्मेदवार अशोक यादवले जनताको अधिकार सुनिश्चितताको लागि मधेशी, थारु, मुस्लिम, आदिबासी जनजाति, दलित, महिला एक ठाउँमा गोलबद्ध हुनुपर्नेमा जोड दिदैं अझै पिछडिएको बर्गले अधिकार पाउन नसकेको दाबी गरे । यदावले अबको निर्वाचन जसपाले जिते मात्रै सबै बर्गले अधिकार प्राप्त गर्ने बताए । जनता समाजवादी पार्टी वैकल्पिक शक्तिका रूपमा उदाइरहेको दाबी गर्दै उहाँले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी पार्टी र देशै भर बलियो बन्ने बताए ।
कार्यक्रममा सम्बोधन गर्दै संघिय परिषद् तथा परदेश प्रवक्ता अकरम पठानले जसपा शोषित, उत्पीडित समुदाय र सर्वहारा बर्गको पार्टी भएको बताए । देशमा सबैखाले विभेद अन्त्य गर्न आउदैं गरेको निर्वाचनलाई उपयोग गर्नुपर्नेमा जोड दिदै, पठानले पहिचान, अधिकार, प्रतिनिधित्व र विकासलाई एकसाथ अगाडि बढाउन निर्वाचनमा जसपाका उम्मेदवारलाई सरकारको नेतृत्वमा पु¥याउने अवसरबाट चुक्न नहुने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य हरी कला सुनुवार, क्षेत्रिय अध्यक्ष जगदम्बा कुर्मी, समानुपातिक उम्मेदवार जगमोहन बरई, जसपा गाउँ कमिटी अध्यक्ष सन्तराम तेली, शाहा नवाब शाहा बुधराम थारु, वडा नं ३ का वडा अध्यक्ष बि.के चौधरी लगायतले बोल्दै अबको निर्वाचनमामा जनता समाजवादी पार्टीले ऐतिहासिक विजयी हासिल गर्ने बताए ।



















