बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहराज्य मन्त्री देवन्द्रराज कण्डेलको क्षेत्र नवलपरासी (पश्चिम) क्षेत्र नम्बर २ हो । तर क्षेत्र नम्बर २ मा उनी कण्डेलनै अहिलेको निर्वाचनमा पनि बलियो देखिएका छन् । २०७४ को निर्वाचनमा एमाले माओवादीसहितको बाम गठबन्धनलाई फराकिलो अन्तरले पराजित गरेका कण्डेललाई मंसिर ४ को निर्वाचन भने निकै सहज हुने मानिएको छ ।
यस क्षेत्रमा आगामी निर्वाचनका लागि कांग्रेस – माओवादी केन्द्रको गठबन्धन रहेको छ । जसमा प्रतिनिधी सभामा कांग्रेसकै नेता कण्डेलको उम्मेदवारी छ भने प्रदेश (क) मा माओवदीका उम्मेदवार चिनक कुर्मी र प्रदेश (ख) मा बैजनाथ कलवारको उम्मेदवारी रहेको छ । यता कांग्रेस र माओवादीको प्रतिस्पर्धाको रुपमा भने नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) र लेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।
एमाले र जसपा गठबन्धनबाट प्रतिनिधी सभामा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले उम्मेदवारी दिएका छन् भने प्रदेश २ (क) मा एमालेकै थान प्रसाद गैरे र २ (ख) मा जसपामा जिल्ला अध्यक्ष धरेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।
यस्तै, राप्रपा – लोसपा गठबन्धनबाट राप्रपाका नेता धुव्र बहादुर प्रधानले प्रतिस्पर्धा गरेका छन् भने प्रदेश २ (क) मा लोसपाका पञ्चराम चौधरी र २ (ख) मा पनि लोसपाकै नगेन्द्र अग्रहरीले प्रतिस्पर्धा गर्दै छन् । तीन ओटा गठबन्धन सहित केही अन्य राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारीसमेत यस क्षेत्रमा उम्मेदवारी परेको छ ।
नवलपरासी- २ मा कांग्रेसका देवेन्द्रराज कण्डेल र एमालेका दिपेन्द्र अधिकारी बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र नेकपा एकीकृत समाजवादीको ८८५ मत रहेको छ ।
मतको हिसाबले कांग्रेका देबेन्द्र राज कण्डेल १६ हजार ९६० मतले अघि देखिन्छन् । ०७४ को निर्वाचनमा कांग्रेसका कण्डेल बाम गठबन्धन भन्दा ८ हजार मत कम थियो तर चुनावको नजिता आउँदा कण्डेल १० हजार अन्तरले बाम गठबन्धनलाई हराएका थिए । जबकी नेपाली कांगेस देशभरीमा जम्मा २३ सिट मात्रै प्रत्यक्षमा जितेको थियो ।
त्यस्तो समयमा पनि नवलपरासी क्षेत्र नम्बर २ मा कण्डेलको विजयले उनको निकै राम्रो प्रभाव भएको बुझ्न सकिन्छ ।
किन लोकप्रिय छन्, कण्डेल ?
जनता र समाजप्रति आफूले गरेको योगदानले गर्दा नवलपरासीका जनताले आफूलाई नै बिजय बनाउने कण्डेल दावी गर्छन् । सुनवल देखी महेशपुर बोर्डरसम्मको क्षेत्रमा आफुले सडक पुर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको उनको भनाई छ । नवलपरासी हुँदै बाईपास सडक, परासी बजारको चार लेन सडक, हुलाकी राजमार्ग, महेशपुर छोटी भन्सारलाई मुल भन्सारमा परिणत गर्ने कामहरु उनको पहलमा भएका छन् ।
यस्तै, कण्डेलकै पहलमा महेशपुुर भन्सारलाई राजमार्ग संग जोड्ने महेशपुर – सुनवल सडक चार लेनमा परिणत गरी व्यापारिक मार्गको रुपमा परिणत गर्न करिब १ अर्ब ३३ करोड बजेट व्यवस्थापनको साथै निर्माण कार्य प्रारम्भ भएको छ । सिमा क्षेत्रको विकासको मुख्य उद्देश्यसहित नवलपरासी र रुपन्देहीको बोर्डरलाई जोड्ने महेशपुर – सुनवल जोड्ने गरी भन्सीपुर – सनहीदेखि पडरीसम्म १४ किलोमिटरको रणनीतिक सडक निर्माणका लागि करिब ४० करोड बजेट व्यवस्थापन गरी कामको सुरुवात भएको छ ।
कण्डेलले स्थानिय पुर्वाधार विकास कार्यक्रमबाट शिक्षा क्षेत्र, स्कूल तथा मदरसाका भौतिक संरचना निर्माणमा ३ बर्षसम्म नियमित बजेट व्यवस्थापन गरेका छन् साथै स्थानीय पुर्वाधार विकास कार्यक्रमबाटै स्वास्थ्य क्षेत्र, खेलकुद, धार्मिक, पर्यटकिय क्षेत्र तथा समाजिक क्षेत्रको विकासमासमेत उल्लेख्य बजेट व्यवस्थापन गरेको उनको निजी सचिवलायले जनाएको छ ।
नवलपरासीमा सिंचाईको सुविधाका लागि डिप बोरिङ् तथा खानेपानी व्यवस्थापनका लागिसमेत बजेट विनियोजन, शहरी विकास कार्यक्रमबाट रामग्राम नगरपालिकालाई सुन्दरीकरण गर्न पहल गर्नुको साथै कण्डेलले बजेटसमेत व्यवस्थापन गरेर कार्यान्वयनमा गईसकेको छ ।
यस्तै, सुनवल नगरपालिकालाई सुन्दरीकरण गर्न सहरी विकास मन्त्रालयबाट करिब २० करोड बजेट व्यवस्थापन भएको छ । सरावल गाउँपालिकाको बाँसाबसई हुँदै सुनवल- १३, बडेरा हुँदै जोड्ने करिब ८ किमीको रिङ् रोड निर्माणका लागि योजना स्वीकृत भई प्रारम्भिक बजेटसहित कार्य प्रारम्भ भएको कण्डेलको सचिवालयले जनाएको छ ।
पछिल्लो समय सुकुम्बासी समस्या समाधानका आयोग गठन गरी भुमिहिन, दलित तथा सुकुम्बासीहरुलाई लालपुर्जा वितरण लगायतका कामको पनि सुरुवात भएको छ ।



















