काठमाडौ । प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेपछि सत्ता गठबन्धन सत्ता समीकरणको आन्तरिक गृहकार्यमा जुटेका छन् । सत्ता समीकरणको छलफलका लागि गबठन्धनका पाँच दलहरूबीच बैठकको तयारी भइरहेको छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएपछि पाँचदलीय गठबन्धनको बैठकको तयारी भएको हो ।अहिलेकै सत्ता गठबन्धनलाई कायम राख्न प्रचण्ड र एकीकृत समाजावदीका अध्यक्ष माधव नेपालसमेत तयार रहेका छन् । कांग्रेस सभापति देउवा पनि त्यसमा सहमत नै रहेका छन् । कांग्रेसले माओवादी इतरको सरकार बनाउने प्रयास गर्दा एमालेको साथ लिनुपर्ने हुन्छ ।
स्वतन्त्र र राप्रपालगायतका साना दल मिलाएर सरकार बनाउन गाह्रो हुने भएकोले देउवा अहिले माओवादीलाई छोड्न तयार भइसकेका छैनन् । कांग्रेसका एक नेताको भनाइमा देउवा अहिलेकै गठबन्धनलाई निरन्तरता दिन चाहिरहेका छन् । प्रवक्ता प्रकाशशरण महतले पनि सत्ता गठबन्धनकै निरन्तरता हुने बताएका छन् । एमालेले कांग्रेसलाई साथ दिएर सरकार बनाउने प्रयास पनि गरिरहेकाे छ ।
चुनावअघि नै अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रयासबारे बोलिसकेका थिए । अहिले उक्त प्रयास गर्न सक्ने भए पनि देउवा त्यसका लागि तयार भइसकेका छैनन् । माओवादी र एकीकृत समाजवादी अहिले सत्ता सौदाबाजीका लागि कमजोर शक्ति बनेका कारण देउवाले यही गठबन्धनको निरन्तरतामा सहज ठानिरहेको विश्लेषण भइरहेको छ ।
पाँचदलीय गठबन्धनले निरन्तरता पाउने सम्भावना भए पनि पहिलो खेपको प्रधानमन्त्रीमा भने अहिले पनि रस्साकस्सी रहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालोका लागि तयार भए पनि पहिलो खेपको प्रधानमन्त्री भने प्रचण्डलाई छोड्न तयार भइसकेका छैनन् । चुनावी नतिजाले माओवादी तुलनात्मक रूपमा कमजोर देखिएपछि प्रचण्डको सौदाबाजी कमजोर हुने देखिएको छ ।
त्यसैका कारण देउवाले पहिलो खेपको प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोड्न तयार नरहेको कांग्रेस स्रोतको दाबी छ । तर, राष्टपति, सभामुखलागयतका राज्यशक्तिका पदहरूको समेत भागवण्डा गर्नुपर्ने भएकोले देउवा र प्रचण्डले पहिला साझेदारी गरेपछि पाँचदलीय गठबन्धनमा सहमति गर्ने पनि बताइएको छ ।
अहिले गठबन्धनको १ सय ४० सिट पुग्ने दाबी छ । समानुपातिक मत अझै गणनाका क्रममा रहेका कारण सिट संख्या टुंगो लागेको छैन । सत्ता गठबन्धनका दलहरूले सत्ता समीकरणलाई निरन्तरता दिने संकेत बुझेपछि भारतीय राजदूत नवीन श्रीवास्तवले राजनीतिक भेटघाट अघि बढाएका छन् । देउवासँग भेट गरेलगत्तै प्रचण्डलाइ भेटेका श्रीवास्तावले ओलीलाई पनि भेट्दैछन् ।



















