काठमाडौं, मंसिर १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे टिप्पणी गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित जनसांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वतन्त्र पार्टीको नाम र चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग दुरूस्तै मिल्ने बताए । उनले भने -‘संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका । दुरूस्त आकारको फोटो खिचे जस्तो घण्टी यहाँ पनि ल्याएको छ, फ्रिडम पार्टी ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ७ सिट जितेको छ । यस्तै समानुपातिकतर्फ १० लाख ८५ हजार पाँच सय ६४ मत ल्याइसकेको छ । अझै समानुपातिकको मतगणना सकिएको छैन । ओलीले चुनावअघिसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले एक सिट पनि नजित्ने दाबी गर्दै आएका थिए ।



















