चितवन ३१ असार । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग सहयोग मागेको छ ।



आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशकाअधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।


स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले भने, ‘हामीले नेपालमाउपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेका छौं । खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई भने भनेका छौं ।’
भारतीय टोलीसँग भारतमा सिधै सम्पर्क गरेर सहयोग मागेको उनले बताए । उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारीआइतबार नै पठाइएको भन्दै भूसालले उताबाट प्रतिउत्तरको प्रतीक्षामा रहेको बताए । यसैगरी बंगलादेशसँग भने काठमाडौंस्थित दूतावासमार्फत् सम्पर्क गरेरआवश्यक प्रविधि र जनशक्तिको सहयोग मागिएको भूसालले बताए ।








