गैँडाकोट २७ कात्तिक । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सुरु भएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को दोस्रो दिन आज (मंगलबार) कलाकार रमेशराज भट्टराईको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
आज ठूली एकादशीको दिनसमेत परेको र गण्डकी प्रदेश महोत्सवमा कलाकार भट्टराईले आफ्ना चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिने महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । भट्टराई आज अपराह्न ४ बजे महोत्सव स्थल पुगेर बहुला, भन साइँलालगायत ६ वटा भन्दा बढी चर्चित गीतहरु गाउने भट्टचनको भनाइ छ । भट्टराईसँगै महोत्सवको सांस्कृतिक कार्यक्रममा उमदेवी खनाल र स्थानीय कलाकारहरुको प्रस्तुती रहने मूल संयोजक भट्टचनले जानकारी दिनुभयो ।



















