बुलिङटार २७ मंसिर । बुलिङटार गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा कक्षा – ८, SEE र कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थी, विषयगत शिक्षक र विद्यालयहरुलाई सम्मान गर्ने कार्यक्रम त्रिभुवन मा.वि को सभाहलमा भव्य रुपमा सम्पन्न गरियो ।

प्रशासन अधिकृत सिताराम खनाल ज्युको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारी ज्युको प्रमुख आतिथ्यतमा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष्य दिलमाया राना र ६ वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा समितिका पदाधिकारीहरु, पालिकाका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्र.अ.हरु ,बुद्धिजीविहरु, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।
साथै कूल ६१ जना विद्यार्थी, १५ जना विषयगत शिक्षक र तीन उत्कृष्ट विद्यालयहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा उदीयमान भलिवल खेलाडी विद्यार्थी आक्रोण सुस्लीङलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा अध्यक्ष दिपेन्द्र सुनारीले शिक्षा क्षेत्रको विकास र गुणस्तर सुधारका लागि पालिका सदैव प्रतिबद्ध रहेको बताउँदै विद्यार्थीहरूलाई थप प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्नु भयो। उहाँले विद्यार्थी, शिक्षक, र अभिभावकलाई शैक्षिक गुणस्तर सुधारका लागि थप जिम्मेवार बन्न आग्रह गर्नु भयो, साथै शिक्षा क्षेत्रमा समर्पण र परिश्रमको महत्वलाई बुझेर हामी बुलिङटार गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार्नका लागि निरन्तर कार्य गर्दै जाने र समग्र शिक्षा क्षेत्रमा सुधार र प्रगतिको यात्रामा हामी सबैको साथ र समर्थनको आवश्यकता रहेको भन्दै आफ्नो भनाई राख्नु भयो।
यस प्रकारका कार्यक्रमले गाउँपालिकाको शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको सहभागीहरूले वताउनु भयो ।




















