चितवन १५ पुस । ज्ञापन पत्र बुझाउन गएका विद्यार्थी नेताहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अपमान गरेको आरोप लागेको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ को समापन कार्यक्रममा विद्यालय नै बन्द गरेर विद्यार्थी नलैजान आग्रह गरी ज्ञापन पत्र बुझाउन जाँदा दाहालले अपमान गरेको कांग्रेसनिकटको नेविसंघ र एमाले निकटको अनेरास्ववियुका विद्यार्थी नेताहरुले बताएका छन् ।
नगर प्रमुख दाहालले करिब डेढ घण्टा बाहिर कुराएपश्चात् विद्यार्थीको मोबाइल बाहिरै राख्न लगाई शक्तिको चरम दुरुपयोग गरेको अनेरास्ववियु चितवनकाअध्यक्ष हरि आचार्यले बताए । ‘सुरुवातीबाटै भेट्न आनाकानी गरिरहेकी मेयर दाहालले विद्यार्थी प्रवेश गरेसँगै आफू हतारमा रहेको भन्दै एकतर्फि रुपमाआक्रामक शैलीमा आफ्नो कुरा राख्दै विद्यार्थीहरुले पुर्वाग्रह राखेर आएको अभिव्यक्ति दिइन्’, आचार्यले भने ।
महानगर प्रमुख दाहाललाई विज्ञप्ती बुझाउँदै गर्दाको तस्विर समेत लिन नदिएको र महानगरको तर्फबाट समेत कुनै तस्बिर लिन नमानेर अत्यन्तै झर्रो किसिमकोशैली अपनाउँदै कार्यकक्षबाट निस्किएको आचार्यले बताए । ‘महानगरको मेयरजस्तो गरिमामय पदमा रहेको व्यक्तिको यस्तो शैलीले आम् विद्यार्थीको भावनामाआहात पुगेको छ । मेयर दाहालको भित्री र बाहिरी रुपलाई समेत यो व्यवहारले छर्लङ्ग पारेको छ’, उनले भने ।
अनेरास्ववियु चितवनका अध्यक्ष आचार्य र नेविसंघ चितवनका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीले दाहाललाई बुझाएको ज्ञापन पत्रमा विद्यालय ठप्प गरेरऱ्याली तथा सभामा विद्यार्थीलाई सहभागी नगराउनु अनुरोध गरिएको छ ।
‘विद्यार्थीहरुले पढ्न पाउने संविधानले व्यवस्था गरेको नैसर्गिक अधिकारको समेत उल्लङ्घन हुने गरी विद्यालय ठप्प गरेर ऱ्याली तथा सभामा सहभागिता नगराउनुहुन अनुरोध गर्दछौं । यसरी शैक्षिक संस्थाण सिधै प्रभाव पार्ने किसिमको राजनैतिक गतिविधीले विद्यार्थीहरुको उज्ववल भविष्य माथि प्रहार हुने हाम्रो ठम्याईरहेको छ । यसरी ह्विप जारी हुने गरि विद्यार्थीहरुको मानसपटलमा असर पर्ने खालको गतिविधि तत्काल रोकि विद्यालयमा पठनपाठन स्वतन्त्र रुपले संचालनकोउपयुक्त वातावरण निर्माणका लागि यसै निवदेन मार्फत अनुरोध गरिएको जानकारी गराउँदछौं’, विज्ञप्तिमा उल्लेख छ ।
भरतपुर महानगरपालिकाले सुरु गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई यही पुस १६ गते समापन गरिँदैछ । उक्त दिनलाई महानगरले भरतपुर भ्रमण वर्षको वार्षिकउत्सवका रुपमा मनाउन लागेको छ । भरतपुर २७ मेघौलीमा जारी राष्ट्रिय रैथाने खाना महोत्सवको अन्तिम दिन पारेर सोही स्थानमा महानगरले भ्रमण वर्षकोवार्षिक उत्सव मनाउन लागेको हो ।



















