नवलपुर २४ पुस । बाक्लो हुस्सु र शीतलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
नवलपरासीको बर्दघाट नगरपालिका-४, खुर्सानी खोलामा बाक्लो हुस्सु लागेको र शीतलहर पनि चलेकाले बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश बोहोराले जानकारी दिए ।
राति साढे एक बजेदेखि बाटो दुईतर्फी नै अवरुद्ध हुँदा दुई सय ५० भन्दा बढी सवारीसाधन जाममा परेको प्रहरी नायव उपरीक्षक बोहोराले बताए । चिप्लो बाटोका कारण ठूला र मालवाहक सवारीसाधन सञ्चालनमा निक्कै कठिनाइँ भएको प्रहरीले जनाएको छ ।
सवारीसाधनको सहज आवागमनका लागि प्रयास भइरहेको भए पनि कठिनाइ भएको बोहोराले बताए । पुस लागेदेखि नै तराईका जिल्लाहरुमा बिहान अबेरसम्म नै बाक्लो हुस्सु र शीतलहर चल्ने गरेको छ । यसको असर वृद्धवृद्धा, बालबालिकादेखि यातायातमा पनि परेको छ ।



















