चितवन २४ पुष । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भोलिबाट १५औं संस्करणको चितवन महोत्सव २०८१ सुरु हुने भएको छ ।
नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजकएवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । भोलि पुष २५ बाट सुरु हुने महोत्सव माघ १० गतेसम्म चल्ने छ ।
महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवापुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिइएको छ । आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाईयस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा समेत राखिएको छ ।
‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ को नारा लिएर सुरु गर्न लागिएको महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइँदैछ । अध्यक्ष श्रेष्ठका अनुसारयस क्षेत्रका पर्यटकीय स्थलसम्म जान र आउनका लागि सफारीका व्यवस्था, होमस्टेमा बसोबास गर्ने प्रबन्ध मिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुतगर्नेजस्ता कामहरु गरिने छ ।
अघिल्ला महोत्सवहरुमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरा लगायत उत्पादनलाई प्राथमिकता दिइएकामा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएकोहो । सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने गरी यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको अध्यक्षश्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव स्थलदेखि जिल्लाका विभिन्न पर्यटकीय स्थलसम्म जानका लागि ‘पार्टी बस’ समेत सञ्चालन गर्न लागिएको छ । पार्टी बसमायात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्यवमा छुटकोव्यवस्था समेत गरिने छ ।
महोत्सवमा विदेशी उत्पादनसहित स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा स्थानीय उत्पादनसहित अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानकोसहभागिता रहने छ । यस वर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीमा राखिँदै छ । महोत्सवमा सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटोपरिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न संघसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित चार सय ३० वटाकक्ष रहने छन् ।
महोत्सवमा बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्नेगरी भरतपुर महानगरपालिकाको समन्वयमा रोजगार परिसर समेत राखिनेछ ।
महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र रु ३० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । महोत्सवको टिकट शुल्कसर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन महोत्सव प्रत्येक दुई वर्षमा आयोजना गरिँदै आइएको छ । महोत्सवको उद्घाटन अघि भोलि बिहान ७ बजेबाट शोभा यात्रा निकाल्ने तयारी गरिएको छ ।



















