काठमाडौं ८ माघ । धौवादी फलाम खानीको वस्तुस्थिति र विकास योजनाबारे कार्यशाला गोष्ठी धौवादी फलाम कम्पनी लिमिटेडको आयोजनामा काठमाडौंमा सम्पन्न भयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा,विभिन्न मन्त्रालयका सचिवहरू, बुलिङटार, बौंदीकाली, हुप्सिकोट गाउँपालिका र देवचुली नगरपालिकाका प्रमुखहरूको उपस्थिति थियो ।

धौवादी फलाम खानी नेपालकै सबैभन्दा ठूलो फलाम खानी मानिन्छ, जसमा करिब १० करोड टन फलाम अयस्क रहेको अनुमान छ । यो खानीले नेपाललाई फलाम उत्पादनमा आत्मनिर्भर बनाउँदै स्थानीय तहमा रोजगारी र पूर्वाधार विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।कार्यक्रममा बुलिङटार र बौंदीकाली गाउँपालिका अध्यक्षले खानीको क्षेत्र हुप्सिकोट मात्र नभई बुलिङटार र बौंदीकाली गाउँपालिकामा पनि पर्ने र खानी परियोजनाले स्थानीय जनताको जीवनस्तर सुधार्न र आर्थिक विकासमा सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।
धौवादी फलाम कम्पनी लिमिटेडले खानीको प्रभावकारी सञ्चालन र दीर्घकालीन विकासका लागि ठोस योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको गोष्ठीले परियोजनाका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।



















