बुलिङटार २ फागुन । बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरको विशेष पहलमा तथा सारिका फाउन्डेसन नेपालको सहकार्यमा बुलिङटार गाउँपालिकामा एउटा महत्वपूर्ण सामाजिक कार्य सम्पन्न भएको छ ।

अपाङ्गता भएका नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन र उनीहरूको आवश्यकता सम्बोधन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
कार्यक्रममा न्यानो कपडा वितरणसँगै जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको हितका लागि कपडा बैंकको सुरुवात पनि गरिएको छ ।
कार्यक्रममा Dead Body Freezer Box प्रदान गर्नुका साथै पूर्ण अपाङ्गता भएका नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरले गर्नुभएको थियो । कार्यक्रममा सारिका फाउन्डेसन नेपालका अध्यक्ष विक्रम ठाकुर, संस्थाका अन्य प्रतिनिधिहरू, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरू, अन्य जनप्रतिनिधिहरू, पालिका कर्मचारीहरू, अपाङ्गता भएका नागरिक र तिनका प्रतिनिधिहरू, साथै स्थानीय व्यक्तित्वहरूको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले कपडा बैंक स्थापना गर्ने यस योजनाले स्थानीय अपाङ्गता भएका व्यक्तिहरू र जेष्ठ नागरिकहरूलाई थप सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यसलाई पालिकाको दीर्घकालीन सामाजिक उत्तरदायित्वको एक उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।
सारिका फाउन्डेसन नेपालका अध्यक्ष विक्रम ठाकुरले सहयोगको निरन्तरताको प्रतिबद्धता जनाउँदै यस प्रकारका सामाजिक कार्यहरूमा फाउन्डेसनले सधैं साथ दिने बताउनुभयो । कार्यक्रममा सहभागीहरूले यस्ता सामाजिक गतिविधिहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभएको हो ।

यो कार्यक्रमले बुलिङटार गाउँपालिकामा सामाजिक सद्भाव र परोपकारको भावना प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।



















