धन बहादुर सिंजाली


नवलपुर ३१ भदौ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण धौबादी डाँडा पर्याप्त प्रचारप्रसार र पर्यटकीय पूर्वाधारको अभावमा ओझेलमा परेको छ।


हरियालीले ढाकिएका डाँडाकाँडा, कुहिरो र बादलसँगै देखिने मनोरम दृश्य तथा शान्त वातावरणका कारण धौबादी क्षेत्र पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ ।
धौबादी डाँडाबाट वरपरका पहाडी भू–दृश्यसँगै मौसमअनुसार कुहिरो र बादलले ढाकिएका मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। विशेषगरी प्रकृति र ग्रामीण परिवेशमा रमाउन चाहने पर्यटकका लागि यो क्षेत्र आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ ।
तर, पर्यटकीय सम्भावना बोकेको भए पनि सडकको अवस्था, आवश्यक पूर्वाधार, प्रचारप्रसार तथा संरक्षणमा पर्याप्त ध्यान पुग्न नसक्दा धौबादी डाँडाले अपेक्षित पहिचान बनाउन सकेको छैन। तस्वीरमा देखिएका जीर्ण संरचना तथा प्रवेशद्वारले समेत संरक्षण र व्यवस्थापनको आवश्यकता देखाउँछन् ।
स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनका लागि सडक स्तरोन्नति, सरसफाइ, आवश्यक पर्यटकीय पूर्वाधार निर्माण, सूचना तथा प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ। सम्बन्धित निकायले दीर्घकालीन योजना बनाएर काम गर्न सके धौबादी डाँडालाई जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको स्थानीयको भनाइ छ ।






