बुलिङटार ०७ भदौ । नवलपुर बुलिङटार गाउँपालिकाका नागरिक तथा सेवाग्राहीहरूका लागि सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, सरल र सहज बनाउने उद्देश्यले गाउँपालिकामा करदाता सेवा (PAN) सम्बन्धी सेवा विस्तार गरिएको छ ।





गाउँपालिकाको यो नयाँ कार्यले स्थानीय नागरिकहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। यस सेवाको विस्तारसँगै अब स्थानीय बासिन्दाहरूले व्यक्तिगत वा व्यावसायिक प्यान (PAN) कार्ड लिन तथा करसम्बन्धी प्रारम्भिक कामका लागि सदरमुकाम वा आन्तरिक राजस्व कार्यालयसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
गाउँपालिकाले सार्वजनिक सेवालाई नागरिकको घरदैलोमै पुर्याउने र डिजिटल साक्षरतासँगै करको दायरालाई व्यवस्थित बनाउने नीति अन्तर्गत यो कदम चालेको हो । स्थानीय स्तरमै प्यान सम्बन्धी सेवा उपलब्ध भएपछि समय र खर्च दुवैको बचत हुने भन्दै स्थानीय नागरिकहरूले खुसी व्यक्त गरेका छन् ।
गाउँपालिका प्रशासनका अनुसार, आगामी दिनहरूमा सार्वजनिक सेवा प्रवाहलाई अझ बढी प्रविधिमैत्री, प्रभावकारी र जनमुखी बनाउन थप प्रयासहरू जारी रहनेछन् ।







