चितवन २४ असार । चितवनको माडीमा बुधबार रातिदेखि परेको अविरल वर्षाको कारण बाढी आएको छ । बाढीले सुकुम्बासी बस्ती डुबानमा परेको छ । बाढीले माडीको रौतने खोला छेउको ड्याम कटान गरी माडी ३ मलाहीटोल डुबानमा पारेको हो ।




इलाका प्रहरी कार्यालय माडीका अनुसार बाढीले गर्दा सुकुम्बासी घरहरूमा पानी पस्न थालेको छ । माडी नगरपालिका ७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती डुबानमा परेको छ । ५५ घर भएको चेपाङ बस्ती डुबानमा परेको स्थानिय बासिन्दा छबिलाल चेपाङले जानकारी दिए । कुसुम खोलाबाट सारिएका चेपाङ बस्तीहरु अहिले पुरै डुबानमा रहेको उनले बताएका छन् । दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको कुसुम खोलाबाट विस्थापित भएर आएका चेपाङहरुलाई यो बस्तीमा राखिएको थियो।



















