बाँके, जेठ २३ । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । फेसबुकबाट बनेका प्रेमीले आफ्नो जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कार गरेका हुन् । किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।




पक्राउ पर्नेमा जन्मदिन भन्दै बोलाउने प्रेमी बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का १७ वर्षीय हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारु रहेका छन् । पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष, दुई जना १६ वर्षका र अरू १८ वर्षमाथिका छन् ।




उनीहरुले राप्ती ती किशोरीलाई जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा बोलाएर दिउँसो घुमफिर गरी साँझ सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार हेमराज थारु र ती किशोरी एक वर्षअघि फेसबुकमा साथी बनेका थिए ।
दुईजना फेसबुकबाटै प्रेममा परेका थिए । हेमराजले नै बोलाएपछि सार्वजनिक बस चढेर ती किशोरी मानखोला पुगेकी थिइन् । उनीहरूले साँझ मानखोलाको फूलबारीमा पुगी जन्मदिन मनाउने भन्दै मदिरा खाने र किशोरीलाई समेत खुवाएका थिए । किशोरी मदिराले लठ्ठिएपछि हेमराज, विक्रान्त, निराजन, प्रविण र राजकुमार थारुले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सामूहिक बलात्कारपछि बेहोस भएकी किशोरीलाई मध्यरातमै मोटरसाइकलमा राखेर बाँकेको बैजनाथ-८ पिपरीस्थित विक्रान्त थारुको बंगुर फर्ममा पुर्याए । बेहोस अवस्थामा रहेकी किशोरीलाई त्यहाँ पनि विक्रान्त र निराजनले बलात्कार गरे । त्यसपछि उनीहरू जोगिन किशोरीलाई गाउँ छोड्न जाने योजना बनाए ।
२२ गते साँझ ४ बजे बेहोस अवस्थामै भे. ३ प ३५२७ नम्बरको मोटरसाइकलको बीचमा राखेर किशोरीलाई घर लैजाँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । विश्वनाथ र निर्देशन थारुले मोटरसाइकलको बीचमा अर्धचेत अवस्थामा किशोरीलाई लैजादै गरेका थिए । किशोरी लठ्ठिएको देखेपछि प्रहरीले कार्यालयमा लगेर सोधपुछ गरेको थियो । प्रहरीले किशोरीलाई सोधपुछ गरेपछि घटना बाहिर आएको हो ।















